इटहरी, १६ असोज : चार दिनदेखि बेपत्ता भएका इटहरी ११ का १६ वर्षीय किशोर इन्ताज खानको डढेको अवस्थामा आज बिहान शव फेला परेको छ । शरीरको आधा भाग डढेको अवस्थामा बुढीखोला नजिक शव फेला परेको हो । खनारस्थित बुढीखोला किनारको धान खेतमा अनुहार र शरीर डढेर कालो भएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
शरीरमा भएको कपडा पूर्णरुपमा जलेको छ । खानको अनुहार र खुट्टामा धारिलो चिजले काटेको चोट छ । हत्या गरेर शरीरमा आगो लगाइएको हुन सक्ने बताइएको छ । हत्या अन्य स्थानमा गरेर शव धान खेतमा फालेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक शुक्रबारदेखि बेपत्ता भएका थिए ।
यता खानको शव भेटिएपछि आफन्तहरूले प्रहरीको लापरबाहीले घटना घटेको आरोप लगाएका छन् । बेपत्ता भएका खानको खोजीमा इटहरी प्रहरीले चासो नदेखाएको कारणले हत्या भएको आफन्तजनले आरोप लगाएका हुन । शनिबार साँझ मात्र इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका आफन्तहरूले खानको खोजीमा प्रहरीले चासो नदेखाएको आरोप लगाएका छन् ।
घटनाको विषयमा अनुसन्धान शुरु गरिएको इटहरीका डिएसपी शिव श्रेष्ठले बताउनुभयो । घटनामा संलग्न हुन सक्ने भन्दै ६ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।