बेनीमा प्रथम पर्यटन महोत्सव चैत २१ देखि

रिपोर्ट नेपाल | 2019 Mar 27 | 11:41 am 2457

 

म्याग्दी, चैत्र १३ सदरमुकास्थित बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । यही चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको महोत्सवका मूल संयोजक चिरञ्जिवी शर्माले जानकारी दिए ।

रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११औँ वार्षिकोत्सवको अवसरमा (हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्धन) भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको मूल संयोजक शर्माले बताए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने साथै खुला लोकदोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्यलगायतका प्रतियोगितासमेत समावेश गरिएको बताइएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः २५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १ सय व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका वस्तुको प्रदर्शनी र प्रवर्धनका लागि आयोजकले १० स्टल निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवं महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.