बेथिति : कर्णेलको निजी घर बनाउन ५८ सेना खटिए

रिपोर्ट नेपाल | 2019 Mar 10 | 07:32 am 1873

नवलपरासी, फागनु २६: बहालवाला कर्णेलले आफ्नो घरको पर्खाल लगाउन नेपाली सेनाका जवानलाई खटाएका छन् । कर्णेल रवीन्द्र लुइँटेलले गैंडाकोट नगरपालिका–२ प्रगति टोलस्थित १२ आना जग्गामा पर्खाल लगाउन चार दिनमा ५८ सैनिक खटाएका हुन् ।

निजी काममा सेना प्रयोग गरेको भन्दै स्थानीयले उनको विरोध गरेका छन्। लुइँटेल हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण निर्देशनालयका गणपति हुन्। सैनिकलाई यसरी निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो।

उक्त जग्गा लुइँटेलकी आमा रामपियारीको नाममा छ। बिहीबारदेखि शुक्रबारसम्म दैनिक ८ घण्टाका दरले सैनिक काममा खटिएका थिए। शनिबार बिहानैदेखि २२ सैनिक परिचालन गरिएका थिए। तीमध्ये कोही सैनिक पोसाक त कोही सेनाको काम गर्दा लगाउने पोसाकमा थिए। हात्तीखोरबाट ४१ किलोमिटर टाढाको गैंडाकोटस्थित जग्गामा सैनिक ओसार्न ना १ झ ९९७ नम्बरको सरकारी पिकअप भ्यान र ट्रक प्रयोग गरिएको छ। निजी काममा सेनाको गाडी प्रयोग गरिएकोमा पनि स्थानीयले आलोचना गरेका छन्।

सैनिकले चार दिनमा ४५ फिट लामो पर्खाल लगाइसकेका छन्। तल ढुंगाले उठाएर माथि इँटाको पर्खाल लगाइएको छ। सेनाका डकर्मी र सिकर्मी ल्याएर खाल्डा खन्ने, ढुंगाको पर्खाल लगाउन लगाएका कर्णेलले तिनलाई छुट्टै पारिश्रमिक दिँदैनन्।

‘करसापले उर्दी जारी गरेपछि घरकै काम भए’नि नाइँ भन्न पाइएन,’ एक सैनिक जवानले भने, ‘शान्ति सेनामा जान छनोटमा परेका छौँ, करसाबको बाङ्गो आँखा परे जान पाइन्न, काममा खुरुखुरु खटिनै पर्‍यो।’ लुइँटेलले भने आफू मौलाकालिका मन्दिर पुगेर फर्किंदा साथमै रहेका जवान आफ्नो घरमा खाना खाएर फर्किएको जवाफ दिए। ‘त्यसरी काममा लगाउन पर्ने नै छैन,’ उनले भने। ‘ म सरकारी कर्मचारी हाम्रो चिनजान छदैछ नि। ‘ ती कर्णेलले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.