सरकारमाथि अधिनायकवादी, निरंकुश जस्ता आरोप लाग्न थालेको छ, तर यसको परवाह नगरी सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकिदिएको छ । विपक्षी दलको विरोधको बेवास्ता नगरी सरकारले यसरी विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएको हो । तोकेको स्थानबाहेक अन्य स्थानमा भेला भई विरोध प्रदर्शन गर्न खोजे कारवाही भोग्नुपर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ ।
गृ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएअनुसार आगामी साउनबाट लागू हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृहमन्त्री रामबहादुर थापाले अब पहिले जस्तो जहाँ पायो त्यही विरोध प्रदर्शनगर्न नपाइने सो अवसरमा बताए ।
बताइएअनुसार धार्मिक, सांस्कृतिक र सामाजिक कामहरु गर्न रोक नलगाइने तर त्यस्ता गतिविधि गर्दा सार्वजनिक यातायात अवरोध हुन मिल्दैन । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्नका निम्ति विरोध प्रदर्शनका निश्चित स्थान तोकिएको तर्क गरे। पहिले बेथितिमा देश चलेको तर अब विधिमार्फत चल्ने हुनाले यस्तो नियम लगाउनुपरेको गृहमन्त्रीको तर्क छ ।
गृहले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार अब विरोध प्रर्दशनका निम्ति काठमाडौंमा खुलामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान, लैनचोरको समाज कल्याण परिषद्अघिको खुल्ला स्थान, गौशालाको सिफल चौर, भूईखेल र भगवानपाउ तोकिएको छ ।
यस्तै, ललितपुरमा च्यासल खेल मैदान, बज्रबाराही मन्दिरअघिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैंसेपाटी च्यासीकोटको खुला स्थान, लुभु ससमुच, लामाटार र धोबीघाट मुहान पोखरीको छेउ तोकिएको छ भने भक्तपुरमा
सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गालाई विरोध प्रदर्शन गर्न सकिने स्थानको रुपमा छुट्याइएको छ ।