बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता

| 2022 May 16 | 09:19 am 1357

काठमाडौँ, जेठ २ः काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा  कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिएकाे निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गरेका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी  एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गरेकी छन् ।

बूढानीलकण्ठ–४ मा कांग्रेसको प्यानल नै विजयी

बूढानीलकण्ठ नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडाको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार श्रीराम केसीले १२५९ मत ल्याई विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार राजेन्द्र खड्काले ८०२ मत प्राप्त गरे ।

यस्तै वडासदस्यमा  कांग्रेसका उम्मेदवारद्वय पवन कार्की १२२४ र कृष्ण खत्री ११८५ मत ल्याएर विजयी भएका छन् । यसैगरी महिला सदस्यमा कांग्रेसकी सुमिता खड्काले ११९७ र दलित महिला सदस्यमा कांग्रेसकै मञ्जु परियारले १२३० मत ल्याई विजयी भएको निर्वाचन अधिकृत भट्टराईले बताइन् ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठमा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा  छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.