बूढानीलकण्ठ नगरपालिकामा आर्थिक अनियमितताको आशंका

रिपोर्ट नेपाल | 2023 Jul 20 | 11:52 am 1009

काठमाडौं,साउन ४ । बूढानीलकण्ठ नगरपालिकाका स्थानीय सरकारहरूमा बढ्दै गएको व्यथिति र भ्रष्टाचारका विरुद्धमा संयुक्त राजनीतिक दलहरू एकै ठाउँमा उभिएका छन् ।

सार्वजनिक कोषको दुरुपयोग गरेको विषय तथा पालिकामा मौलाउँदै गएको व्यथिति, घट्दै गएको नैतिक मापदण्ड र आर्थिक अनीयमितताका विषयलाई लिएर नगरपालिकाभित्रका राजनीतिक पार्टीहरू जवाफदेहिता र कानुनी सुसासनको माग गर्दै एकजुट भएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाभित्र भएका आर्थिक व्यथिति, विसंगति र अनियमितताका विषयलाई लिएर स्थानीय राजनीतिक दल नेपाली कांग्रेस बूढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकीको नेतृत्वमा नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ नगर अध्यक्ष भाइनारायण श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगर संयोजक निरञ्जन नेपालले संयुक्त रूपमा हस्ताक्षर गरेको ज्ञापन पत्र लिएर नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई बुझाउने भनिएको ज्ञापनपत्रमा भ्रष्टाचारको गहिरो अनुसन्धान, बलियो आन्तरिक अनुगमन संयन्त्रको कार्यान्वयन, भ्रष्टाचारमा दोषी पाइएकालाई कानुनी कारबाही गर्नुपर्ने लगायत १० बुँदे माग राखिएको छ ।

गठबन्धनले आफू नगरपालिका प्रांगणमा आइपुगेको र आफ्नो कुरा सुनेर मनन् गर्न मेयरलाई बोलायो । अघिल्लो दिन नै मेयर मीठाराम अधिकारीलाई गठबन्धन दल नगरपालिका आउन लागेको भनेर मौखिक जानकारी गराएको नेपाली कांग्रेस बूढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकी बताउछन् ।

नगर प्रमुख अधिकारी कार्यकक्षको झ्यालबाट पटकपटक परिसरको प्रांगणमा आँखा लगाइरहँदा उहाँको आँट भने त्यो बाक्लो भीड देखेपछि सदासयता देखाउने हिम्मत नै गर्न सक्नु भएन । झन् भीड बाक्लिँदै गयो नगर प्रमुख अधिकारी झन् असिन पसिन हुनुभयो कार्याकक्षमै तर जनमत केका लागि भन्ने बुझ्ने कोसिस गर्नु भएन । प्रमुख अधिकारीले केही उपस्थित सीमित मानिसमात्रै कार्यकक्षमा माथि आएर ज्ञापन पत्र बुझाउन सहयोगीमाफत् सन्देश पठाउनुभयो । उपस्थित गठबन्धन दलका नेता कार्यकर्ताले त्यो स्वीकार्य गरेनन् ।

उपस्थित भीड आक्रोशित बन्दै गयो । सो आक्रोशित भीडले नगरपालिकाको मुख्यद्वार बन्द ग¥यो । नाराहरू घन्कन थाले । मेयर अधिकारीले खोला मिचेर घर बनाएकोदेखि विविध विषयमा नारीवाजीको स्वर गुञ्जन थाल्यो । नगरपालिकाभित्रै भएका विविध व्यथिति तथा विसंगतिको नारा लाग्न थालेपछि उहाँलाई तल आउन दबाब बढ्न थाल्यो । तर हिक्मत गरेनन् ।

एक वर्षभित्र नगरपालिकामा भएका व्यथिति र विसंगतिका चाङबाट १० वटा बुँदा तयार पारेर नगरपालिका पुगेको भीडलाई सामना गर्ने हिम्मत जुटाउन नसकेका मेयर अधिकारीले उपस्थित भीडलाई तितरवितर पार्न नेपाल प्रहरी नै बोलाउनु पर्यो । बूढानीलकण्ठ प्रहरी प्रभागको सिआरभी भ्यानमा निरीक्षकसहितको प्रहरी टोली आइपुग्यो । तर भीड तितरवितर भएन र प्रहरीले पनि भीडलाई केही गरेन ।

प्रहरी निरीक्षक दीपेन्द्र चन्द आफैं मेयरको कार्यकक्षमा गई फकाई, फुल्याई तल आएर नागरिकको कुरा सुनिदिन अनुरोध गर्न पुगे । घेराउ गर्न पुगेकै पार्टीका नेताहरूले प्रांगणमा आएर सम्बोधन गर्न पटकपटक अनुरोध गर्दा मेयर अधिकारीले आफू नआउने भन्दै जबरजस्ती अड्डी कसेर बसेका थिए ।

प्रहरी बोलाएपछि उपस्थित भीडले मेयर अधिकारीविरुद्ध झन् सशक्त नारा लागायो । नाराको गुञ्जन मेयर कार्यकक्षभरी फैलियो । ‘असक्षम मेयर तल झर, जनतासामु केको डर, जस्ता नाराहरू गुञ्जिन थालेपछि प्रहरी निरीक्षक चन्द पुनः मेयर अधिकारीलाई प्रांगणमै गएर ज्ञापन पत्र बुझ्न अनुरोध गरे ।

किंकर्तव्यविमूढ अनुहार लगाएर उहाँ तल झरे । मेयर अधिकारी आइपुगेपछि घेराउ गर्न आएका दलहरुका तर्फबाट राजाराम बुढाथोकी, भाइनारायण श्रेष्ठ र निरञ्जन नेपालले नगरपालिकाभित्र विविध व्यथिति, विसंगति धेरै भएको भन्दै १० बुँदे विषयको ज्ञापन पत्र पढेर सुनाए । अन्त्यमा, ज्ञापन पत्र लिँदै मेयर अधिकारीले सबै बुँदा तथा विषयमा आफूले गम्भीरताका साथ काम गर्ने बताए ।

उनले गरपालिकाभित्रको इमानदारीता र पारदर्शिताको सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै आरोपको निष्पक्ष छानविन गर्ने र दोषी पक्षलाई कानुनको पूर्ण पालना गराउने आश्वासन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.