उदयपुर, पुस २१ः कटारी नगरपालिका ४ सिम्लेमा बुहारी दलित भएको थाहापाएपछि परिवार मिलेर हत्या गरेको रहस्य खुलेको छ ।
उदयपुरगढी गाउँपालिका ५ बाहुनीटारकी १७ वर्षीया संगीता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्की मिलेर हत्या गरेको रहस्य खुलेको हो ।
२०७४ कात्तिक १४ गते सिम्लेस्थित जंगलमा हत्या गरी फालेको र उनको शव सडेको अवस्थामा फेला परेको थियो ।
प्रहरीको लामो अनुसन्धान पश्चात् हत्या भएको भन्दै गत मंसिर २२ मा उनका देवर सुजन कार्कीलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीका अनुसार अनुसन्धानबाट युुवराजले विवाह गरी ल्याएका संगीता दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको पाइएको जानकारी दिए ।
उनीहरु विवाह गर्नु भन्दा अगाडि फोन सम्पर्क मार्फत प्रेम सम्बन्धमा रहेकाले युवराज र संगीताले भागी विवाह गरेको बताइएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।