बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 21 | 09:33 am 1979

डोल्पा, माघ ७ : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिए।

विभिन्न तथ्यका आधारमा थापाको पनि संलग्नता रहेको पुष्टि भएर जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते गरेको फैसलाअनुसार रु एक लाख जरिवाना तीन वर्ष कैदको सजाय सुनाइए पछि उनी फरार रहेका थिए ।

उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौँ वर्ष पुरानो मूर्तिमा संलग्नता भएको आरोपमा पक्राउ परेका हुन् ।

धावालाई आइतबारनै जिल्ला अदालतमा पेश गरी जेल चलान गरी अनुसन्धान जारी राख्ने प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई दुई वर्षअघिनै प्रहरीले पक्राउ गरेको थियो ।

मूर्ति चोरी भएको केही दिनभित्रै पक्राउ परेका सोनाम ढाक्पा र धावाले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

उनीहरुबाट प्रयोग भएको तीन नाल पेस्तोल, २३ राउण्डगोली, तीन थान खोका र चोरी भएको दुई थान मूर्तिसहित बरामद गरिएको थियो । उपल्लो डोल्पालीको आस्थाको धरोहरको रुपमा रहेका विभिन्न बौद्ध गुम्बामा चोरी गरेको आरोपमा एक महीनायता मात्रै छ व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.