बुद्ध जन्मस्थल संरक्षणबारे अन्तर्राष्ट्रिय गोष्ठी

रिपोर्ट नेपाल | 2022 Nov 26 | 12:09 pm 1273

कपिलवस्तु, मङ्सिर १०ः लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्त्विक अवशेषहरूको संरक्षणका लागि विज्ञहरुबीच अन्तर्राष्ट्रिय गोष्ठी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा पुरातत्त्व विज्ञहरूसँग छलफल गरिएको हो ।

मायादेवी मन्दिर, बुद्ध जन्मस्थल क्षेत्रमा रहेका मार्कर स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्त्विक अवशेषहरूको अवस्था र दिगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिर र बुद्ध जन्मस्थलको संरक्षणबारे विज्ञहरूले महत्त्वपूर्ण सुझावसहितको प्रस्तुति राखेका छन् ।

त्यस अवसरमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन पी आउजा, संरक्षण विज्ञ मुसि, दुर्हम विश्वविद्यालय, बेलायतका पुरातत्त्व सल्लाहकार प्रोफेसर रविन कनिङ्घमले प्रस्तुति राख्नुभएको थियो । छलफलमा विषयवस्तुमाथि विश्व सम्पदाका विज्ञ काई वेइस, विज्ञहरू प्राध्यापक प्रेमनाथ मास्के, विज्ञ डा. विजयमान शाक्य, युनेस्को नेपालका प्रतिनिधि मिचल कार्फटले टिप्पणी गर्नुभयो । मायादेवी मन्दिर र बुद्ध जन्मस्थलमा केही वर्षदेखि पुरातत्त्व अवशेष संरक्षणमा चुनौती थपिएकाले यो छलफल गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय),  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले लुम्बिनीका पुरातत्त्वहरूको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

विज्ञसहितको प्राविधिक पक्षबारे गरिएको उक्त छलफलपछि मायादेवी मन्दिर र बुद्ध जन्मस्थल क्षेत्रको भग्नावशेष पुरातत्त्वको संरक्षणको नयाँ योजना बन्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.