बुटवल, फागुन २७ : पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा रहेको श्रम कार्यालयमा आज श्रम मन्त्री गोकर्ण विष्टले छड्के अनुगमन गरेका छन् । जनताले चाहे अनुसारको काम नभएको गुनासो बढेपछि मन्त्री विष्टले आज आफैले चेक गरेका हुन् ।
विचौलियाको बिगबिगीले सेवाग्राहीले भोग्दै आएको सास्तीको बारेमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि मन्त्री विष्टले श्रम कार्यालय अनुगमन गरेका हुन् ।
छड्के अनुगमनको क्रममा उनले एक हप्ता भित्र कार्यालय अन्य ठाउँमा सार्न र कर्मचारीको कार्यशैलीमा सुधार गर्न निर्देशन दिएका छन् ।
गत पुस १५ गते आइतबारबाट बुटवलमा सेवा सञ्चालन भएको थियो । श्रम मन्त्रालयबाट प्रदान गर्ने सबै सेवालाई सहज रुपमा सेवाग्राहीसामू पुर्याउनका लागि सरकारले बुटवल ६ चाँदबारीमा श्रम तथा रोजगार कार्यालय स्थापना गरेको थियो ।