बुटवलका डिएसपी केसी अनुसन्धान टोलीको फन्दामा

| 2022 Dec 26 | 01:18 pm 2041

बुटवल, पुस ११ः आइतबार साँझ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीको फन्दामा परेका छन्।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानबिन सुरू गरेको थियो।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

करिब १३ महिना अघि केसी बुटवल आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.