बीपी राजमार्ग अब दुई लेनको बन्ने

रिपोर्ट नेपाल | 2019 Sep 01 | 08:10 am 3203

काठमाडौं, भदाै १५: काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ। सडक साँधुरो हुँदा सवारी साधन आवतजावत गर्न नै कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो।

निर्माण सम्पन्न भएको पाँच वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने काम अगाडि बढाएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्नेछ।

आयोजना प्रमुख भाटले खुर्कोट–सिन्धुलीगढी हुँदै चिया बगानसम्मको सडकको भने डीपीआर नगर्ने बताउँदै खुर्कोट चियाबगान सुरुङ मार्गको अध्ययन गराइने जानकारी दिए।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ।

धुलिखेलदेखि बर्दिवाससम्म १ सय ६० किलोमिटर बीपी राजमार्ग दुई लेन बनाउने काम यसै वर्षबाट अगाडि बढ्ने बताउँदै उनले ६ किलोमिटर सडक दुई लेनको बनाउने काम शुरू हुने जानकारी दिए।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको नेपालकै नमुना सडकका रूपमा रहेको बीपी राजमार्गले राज्यले अपेक्षा गरेअनुसारको सुविधा दिन नसकेको निष्कर्षसहित सरकारले दुई लेनको सडक बनाउने योजना अगाडि सारेको हो।

हाल उक्त सडकमा ठूला सवारी साधन सञ्चालनमा सरकारले नै रोक लगाएको छ। सडक साँघुरो भएकाले हाल साना सवारी साधन मात्र सञ्चालन हुँदै आएका छन्।

तराईबाट मालवाहक सवारी साधन सञ्चालन बीपी राजमार्ग हुँदै काठमाडौं सञ्चालन हुन सक्ने अवस्था छैन। सडक विस्तार गर्ने आयोजनाले यसअघि नै सडक निर्माण गर्दाकै अवस्थामा सडकको दायाँबायाँ १५/१५ मिटर जग्गा अतिग्रहण गरिसकेको छ।

सडक विस्तारका लागि मुआब्जा दिन समस्या नरहेको बताउँदै आयोजना प्रमुख भाटले सरकारले बीपी राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राखेको जानकारी दिए। सरकारले बीपी राजमार्गको विस्तार गर्न डीपीआर र निर्माणको काम अगाडि बढाउनको लागि यस वर्ष २० करोड रुपियाँ विनियोजन गरेको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.