सिन्धुली, फागुन १२: गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् ।
मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् ।
स्थानीयवासीले ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।
ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बीचबाटोमै बिचल्लीमा परेका छन् ।