काठमाडाैं, भदाै २६ । बीपी चिन्तन प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा ११० औं बीपी जन्मजयन्तीको अवसरमा “नेपालमा आर्थिक क्रान्तिका आधारहरू“ विषयक राष्ट्रिय कार्यशाला गोष्ठी, नेपाल प्रज्ञा प्रतिस्ठानको सभाहल कमलादी काठमाडौंमा सोमबार सम्पन्न भयो ।
नेपाली काँग्रेसका प्रबक्ता एवं अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले गोष्ठीको उदघाटन गर्दै बीपी कोइरालाले कल्पना गर्नु भएको आर्थिक क्रान्तिको शुरूवात गर्नुपर्ने बेला आएको बताए । अर्थमन्त्री डा. महतले नकारात्मक भावना र निरासा छोडेर अगाडि बढ्न आफु लागी परेको, बिश्वब्यापी आर्थिक मन्दी भए पनि नेपालमा आर्थिक सूचकांक निरासा जनक नभएको, डलर संचिति वृद्धि भएको, कोभिडले बिग्रेको भए पनि अहिले अर्थतन्त्रले गति लिएको हुँदा निरास नहुन आग्रह गर्दै पर्यटन, उर्जा कृषि र आईटीलाई सरकारले आधार बनाएर अगाडि बढ्ने बताए ।
विशेष अतिथि पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले बीपी कोइरालाले परिकल्पना गर्नु भएको आर्थिक आधारका बारेमा धारणा राखेका थिए।
गोष्ठीमा अर्थविद डा. जगदिशचन्द्र पोखरेल, सहकारीबिद् डा. ज्ञानेन्द्र प्रसाद पौडेल , संविधानसभा सदस्य शोभाकर पराजुलीले धारणा राखेका थिए । अर्थविद् डा. रघुराज काफ्ले द्वारा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुस्पराज पराजुली, धन्यवाद ज्ञापन मन्तव्य गोविन्द प्रसाद शर्माले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष हरिवोल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबैले राख्नु भएको धारणा, प्रस्तुत कार्यपत्र समेतलाई लिपीबद्द गरिने प्रतिष्ठान सदस्य गोबिन्द प्रसाद शर्माले बताए । कार्यक्रमको संचालन सुशील वाग्लेले गरेका थिए ।