काठमाडौं, असार २५ः बिहीबार नेपालमा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या सात हजार ८ सय ९१ रहेका छन्। बिहीबार १ सय ३९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। देशभरीका क्वारेन्टिनमा बिहीबार २४ हजार ४ सय २५ जना रहेका छन्।