बिहीबारदेखि प्रधानमन्त्री कप खेलकूद

रिपोर्ट नेपाल | 2018 Jul 04 | 09:50 pm 4459

काठमाडौँ, असार २० : राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि शुरु हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दीएका हुन् ।

भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अधिकृत निरौलाका अनुसार तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी हुनेछन् ।

भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु ३५ लाख खर्च हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.