बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी

रिपोर्ट नेपाल | 2020 Aug 19 | 04:17 pm 2242

काठमाडौं, भदौ ३ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित दिनप्रति बढ्न थालेपछि उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित मंगलबार उपत्यकाका तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो ।

प्राप्त समाचार अनुसार औषधि खाद्यबस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन नपाउने तीन जिल्लाका प्रजिअद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइनेछ ।

विज्ञप्तिका अनुसार औषधि, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने जस्ता अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको जनाइएको छ ।

दैनिक नित्यपूजा बाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन ।

सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै होटल, रेष्टुँरा सञ्चालन गर्न पनि पाइने छैन ।

बैकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ । सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.