काठमाडौं, भदौ १: सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन राष्ट्रिय सभागृहमा हुनुको साटो कुनै होटलमा हुने भएको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा सरकारले सुरक्षा र भवन मर्मतलाई कारण देखाउँदै सम्मेलन राष्ट्रिय सभागृहको सट्टा होटलमा गर्न लागेको जनाइएको छ। सम्मेलन उद्घाटनदेखि विषयगत छलफल र समापनसमेत होटल सोल्टीमा हुने निश्चित भएको छ।
सरकारले चार वर्षअघि अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्नकै लागि करोडौं खर्चेर राष्ट्रिय सभागृह मर्मत गरेको थियो। विशिष्ट पाहुनालाई ध्यान दिई चार वर्षअघि राष्ट्रिय सभागृहलाई नयाँ स्वरूपमात्र दिइएको थिएन, अत्याधुनिक होल्डिङ कक्षसमेत बनाइएको थियो । राष्ट्रिय सभागृहमा प्रवेश गर्ने र फर्कने फरक–फरक द्वारको व्यवस्थासमेत गरिएको छ। सोही भवनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन उद्घाटन र समापन समारोह सम्पन्न भएको थियो।
त्यसपछि अन्य विभिन्न कार्यक्रमका लागि उपयोग हुँदै आएको भवन अहिले सम्मेलनमा उपयोग नहुनु ‘मुलुकको लज्जा’ भएको परराष्ट्र अधिकारीले बताएका छन्। होटलमा काम गराउँदा लजेस्टिक पक्षमा सरकारले खासै ध्यान दिनु नपर्ने भन्दै राष्ट्र र सरकार प्रमुखहरूको सम्बोधन होटलको कक्षमा समेटिने भएको हो । स्थान अपुग भए होटलबाहिर प्रोजेक्टर राखेर पनि सम्मेलनको प्रसारण गरिने गरी तयारी गरिएको परराष्ट्र अधिकारीले जनाएका छन्।
राष्ट्रिय सभागृहमा सरकार एवं राष्ट्रप्रमुखहरूलाई होल्डिङ कक्ष, सिटको व्यवस्थापन, कार्पेटिङ, शौचालय, पार्किङ, साजसज्जालगायतका विषयमा ध्यान दिइएको थियो । परराष्ट्र मन्त्रालयले सुरक्षालगायतका दृष्टिले पनि सभागृहमा बिमस्टेक सम्मेलन गर्न सहज नभएको जनाएको छ। सार्क जस्तो प्रक्रिया बिमस्टेकमा नहुने हुनाले त्यस्तो भवन आवश्यक नभएको निष्कर्ष पनि परराष्ट्र अधिकारीहरूको छ। बिमस्टेक सम्मेलन पनि सार्ककै झैं औपचारिक थालनी, त्यसपछि अन्य बैठक बस्ने र समापन गर्ने चलन छ ।
काठमाडौं महानगरपालिकाले आफूअन्तर्गत रहेको राष्ट्रिय सभागृह दिन तयार रहेको भए पनि परराष्ट्रले आग्रह नै नगरेकाले त्यसतर्फ ध्यान नदिइएको जनाएको छ । भदौ १२ मा सचिवस्तरीय र १३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्नेछ । सन् २०१६ अक्टोबरमा भारतको गोवामा भएको थियो।
दुई राष्ट्रपति लुम्बिनी जाने निश्चित
म्यानमार (बर्मा) र श्रीलंकाका राष्ट्रपतिले लुम्बिनी दर्शनका लागि सरकारलाई आग्रह गरेका छन्। उनीहरू रिट्रिट बैठकको दिन बिहान लुम्बिनी जान चाहेको भन्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना यसअघि नै लुम्बिनी आउन चाहेका थिए। त्यस्तै म्यानमारका विन मिन्टले पनि लुम्बिनी जाने व्यवस्थाका लागि आग्रह गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसअघि पटक-पटक लुम्बिनी जाने चाहना व्यक्त गरेको भए पनि यसपटक त्यहाँ जाने या नजाने विषय उल्लेख भएको छैन ।
सम्मेलनमा सबै सदस्य मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवहरूको उपस्थिति रहनेछ। सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री सेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओचा आउने तय भएको सम्मेलन सचिवालयले जनाएको छ । सबैले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।