काठमाडौं, भदौ १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् । सिंहदरबारमा सोमाबार आयोजित बिमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमस्टेक फलदायी भएको बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई बिक्री गर्न बिधुतीय ग्रीड आवश्यक रहेकोले त्यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘त्यस विषयमा भारत र वंगलादेशसँग विशेष रुपमा केन्दि्रत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, बंगलादेश र म्यानमार मात्र होइन सुदूर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं ।’
नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर बिमस्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएको बताउँदै प्रधानमन्त्रीले विमस्टेक होस् वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च जे भएपनि न्यायोचित र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिने बताए ।