विदेशी अस्पतालको कोमामा रहेका नेपालीलार्इ स्वदेश ल्याइने

| 2018 Aug 22 | 09:11 pm 2116

काठमाडौं, भदौ ६: बैदेशिक रोजगारीका सिलसिलामा बिदेश गएका कैयौं यूवा विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेकालाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अचेत अवस्थामा बिदेशी भूमिमा रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको लागि प्रबन्ध मिलाउने बताए ।

बिष्टले भने, “यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भइसकेको छ ।

बिदेशी भूमिमा हजारौँले जीवन गुमाउनु परेको कारण अध्ययन गर्न जरुरी रहेको भन्दै मन्त्री विष्टले सरकारले दक्ष चिकित्सको टोली गठन गरी नेपाली कामदारको मृत्युको कारण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री बिष्टले भने, “नर्मल अवस्थामा सुतेका श्रमिकको भोलिपल्ट मृत्यु हुन्छ । कसरी यस्तो हुन्छ कारण हामीले खोज्नुपर्छ । आउँदा दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सजग गराउन हामी अग्रसर छौँ ।”

मन्त्री विष्टले अचेत अवस्थामा रहेका नेपालीलाई स्वदेश ल्याएर अस्पतालमा राख्न पहल गरिरहेको बताए । रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् । कमाउने व्यक्ति नै अचेतमा पुगेपछि भरोसाका परिवार आर्थिक तथा मानसिक रुपमा विचिलत हुँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.