काठमाडौं, चैत १६: विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।
विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उनले बताए ।
केही दिनअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ ।
कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौं आएकी युवती विमानमा सवार १ सय ५८ यात्रुमध्ये १ सय ३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’ मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उनले स्पष्ट पारे । गोरखापत्र दैनिकबाट