जनकपुर, भदौ १० : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । जनै पूर्णिमाको दिन प्रदेश २ सरकारले दिएको सार्वजानिक विदा अटेरी गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।
प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका मन्त्री यादवले धेरैबेरको वार्तापछि पनि राष्ट्र बैंक बन्द गर्न नमानेपछि बैंकको मुख्य गेटमा ताल्चा लगाइदिएका हुन्।
प्रदेश सरकारको निर्णय मानेर बैंकमा पनि बिदा दिन उनले सुरुमा आग्रह गरेका थिए। तर, राष्ट्र बैंकले बन्द गर्ने वा नगर्ने विषयमा राष्ट्र बैंकको मुख्यालयमा लिखित जानकारी नआएसम्म केही गर्न नसकिने बताएपछि मन्त्री यादवले राष्ट्र बैंकको गेटमा ताल्चा लगाइदिएका हुन्।
संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले रक्षाबन्धनको दिन आइतबार सार्वजनिक बिदाको घोषणा गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रलयले शनिबार अपरान्ह सार्वजनिक अपिल निकालेर बिदा मान्न सबै सरकारी कार्यालय, बैंक, संस्थान निजी क्षेत्रलाई आग्रह गरेको थियो।