काठमाडौं, पुस १७ : अष्ट्रेलियामा बिग बास खेलिरहेका नेपालका लेग स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा पनि विकेट लिन सफल भएका छन्।
आज भएको खेलमा सन्दीपले मेलबर्न रेनीगेड्सका कप्तान टम कुपरलाई १० रनमा बोल्ड आउट गरेका थिए। योसँगै सन्दीपको विकेटको संख्या आठ पुगेको छ भने उनले चारै खेलमा लगातार चार वटा कप्तानको विकेट लिन सफल भएका छन्।
४ ओभर बलिङ गरेको सन्दीपले ३१ रन दिए जसमा ७ बल डट थियो भने ४ चौका खाएका थिए। यसअघि सन्दीपले डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध २, होबार्ट हरिकेन्सविरुद्ध ३ र सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका थिए। सन्दीपले आज चौथौं, ११ औं, १३ औं र १७ औं ओभरमा बलिङ गरेका थिए ।