महोत्तरी, असार १३: कुनै बेला असार–साउनमा बाढीको भेल र चैत–वैशाखमा खोलाको बालुवा उड्ने रातु खोलाको बगर अहिले हराभरा छ। महोत्तरीको भंगहास्थित २ सय ४२ बिघा बगर किसानको पाँच वर्षको कठोर परिश्रमले ऊर्बर बनेको हो।
खोलाको बगरमा आँप लटरम्म फलेका छन्। लिची, कागतीको बोट लहलह हुर्किँदैछन्। त्यहाँ उब्जाएका परबल, भान्टा, रामतोरिया, फर्सी, लौका, काँक्रो, खुर्सानीजस्ता सागसब्जी बिक्री गरेर किसान मालामाल बनेका छन्। तर्बुजा खेती गरेका छन्। विभिन्न जातका २० हजारवटा फलफूलका बिरुवा रोपिएका छन्। ६१ बिघा जमिनमा वृक्षरोपण गरेर किसानले खाली जमिनमा खेतीपाती पनि गरिरहेका छन्। बगर खेतीले २ सय ४८ घरपरिवारको जीवन फेरिएको छ। २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरिएको छ।
चार दशकअघि रातु खोलाको भीषण बाढीले भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कविलाशा, मेघनाथ गोरहन्नाको खेतीयोग्य जमिन कटान गरेको थियो। किसानको कन्तबिजोग मात्रै भएन, उठीबासै लगायो। ‘खेतमा लहलह झुलेका धान र मकै खेतमा बाढीको भेल कुद्न थाल्यो,’ पर्साका ५६ वर्षीय किसान रामनारायण सिंह भन्छन्, ‘छिनभरमै बालुवाले खेतको बालीनाली पुरिदियो। उर्बर भूमि बन्जर बनायो। किसान भूमिहीन भए।’ २०३२–०३३ सालको रातु खोलाको वितण्डा उनले यसरी सुनाए।
चार दशकसम्म खोलाले बनाएकोे बगरमा बालुवा उडिरह्यो। हावाले उडेर गाउँमा पस्ने धुलोले गाउँलेलाई सताउँथ्यो। खोलाले सुकुम्बासी बनेका किसान परिवार पाल्न भारतको दिल्ली र पन्जाब धाउन थाले। २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगरको संरक्षण भएको हो। उराठलाग्दो बगरमा किसानले तरकारी खेती गरेर जीवन चलाएको किसान रामपुकार सिंह बताउँछन्।
‘गाउँलेले बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन्। चरिचरन निषेध छ। गाईवस्तु पसे ११ सय जरिवाना लग्छ,’ रातुखोला फलफूल रोपन समूहका अध्यक्ष जासर यादवले भने, ‘सहयोगी संस्थाहरू खोजेर सिँचाइ बोरिङ गाडेका छौं।’ पानी तान्न पम्पसेट खरिद गरेर सिँचाइको प्रबन्ध मिलाइएको छ। सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको पहलमा रातु खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षरोपण र सुखदाता माई रातुखोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानले बगरलाई हरियाली बनाएका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट