‘बालुवाटारको जग्गा’ लाई कांग्रेसले मुद्दा बनाउने

रिपोर्ट नेपाल | 2019 Apr 30 | 06:57 pm 2095

काठमाडौं, वैशाख १७ : प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणलाई मुद्दा बनाएर प्रचार गर्ने भएको छ। कांग्रेसले बुधबार प्रेस नोट जारी गर्दै बालुवाटारको जग्गा लगायतका विषयमा ‘आवाज घनीभूत बनाइने’ उल्लेख छ।

‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अभियानमा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ।’

गत वैशाख १६ गते प्रतिनिधिसभा बैठकमा सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे बोलेको स्मरण गराउँदै प्रेस नोटमा भनिएको छ- ‘उहाँले पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ। कांग्रेस सो प्रकरणमा गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्नेमा एकमत र प्रष्ट छ ।’

प्रवक्ता विश्वप्रकाश शर्माको प्रेस नोटमा ‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, को संलग्न थिए र छन् भन्ने विवरण तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको’ दाबी गरेका छन्।

उनले ‘दोषीलाई जोगाउने, ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारप्रति सजग हुन’ भनेका छन्। बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानवीन गरी दोषीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.