तेह्रथुम, साउन ६ः छथर गाउँपालिका–२ हमरजुङका खलस्तबहादुर लिम्बुले २५ रोपनीमा मकैखेती लगाएका छन । लिम्बुले लगाएको मकैखेती जोगाउनै हम्मेहम्मे बनेको छ । जंगलनजिकै भएकाले उनले लगाएको मकै झण्डै आधाजति बाँदरले नष्ट गरिसकेको छ । गाउँको छेउमा घर रहेको लिम्बुले बाँदर धपाउनैका लागि ज्याला दिएर धपाउने राखेका छन् ।
हुलका हुल बाँदर मकैखेतीमा छिर्ने गरेकाले मकै जोगाउनै मुस्किल बनेको छ ।
लिम्बु भन्छन्, “मैले दिनको तीन सयका दर मासिक नौ हजार दिएर बाँदर धपाउन खेताला राखेको छु । खेतलाले पनि बाँदर धपाउन मुस्किल भएको छ । मैले लगाएको मकैखेतीले मेरो श्रम पनि उठ्दैन तर पनि आफूले लगाएको बालीको माया लाग्छ त्यसैले जोगाउन मान्छे नै राखेको हुँ ।” विगत लामो समयदेखि बाँदरको त्रासले यहाँका स्थानीय पीडित बन्दै आएका छन् । लिम्बुले गएको वर्ष बाँदरकै त्रासले बारी बाँझो छोडेका थिए । “हामीले लगाएको अन्न पनि जोगाउन मुस्किल छ अन्तजाने ठाउँ पनि छैन सरकारले बाँदर ब्यवस्थापनका लागि कार्यक्रम ल्याएन भने हामीलाई बाँच्नै मुस्किल छ,” लिम्बुले भने ।
लिम्बुजस्तै लालबहादुर लिम्बुले पनि खेती लगाएको मकै नष्ट गर्दै आएका छन् । लालबहादुरको दैनिकी भनेकै बाँदर धपाउनु बनेको छ । घरको एकजना दैनिकजसो यहाँका स्थानीय बाँदर धपाउनमै दिन बिताइरहेका हुन्छन् । १० रोपनी क्षेत्रफलमा लगाएको मकै जोगाउन पनि धौधौ नै बनेको छ । धर्मेन्द्र खनालले खेती लगाएको सात रोपनी मकै नष्ट पारिदिएपछि निराश बनेका छन् । खनाल, लिम्बु र लालबहादुरजस्ता यहाँका दर्जनौं स्थानीय वर्षाैंदेखि बाँदरले अन्नबाली नष्ट गर्दा हैरानी भोग्दै आएका छन् ।
यहाँका स्थानीय कहिले प्राकृतिक प्रकोप त कहिले बन्यजन्तुको समस्याले पीडित बन्दै आएका छन् केही वर्षअघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न मुस्किल थिएन पनि । बाँदरकै त्रासले खेतीयोग्य जमिन बाँझिन थालेका छन् । टारीखेतदेखि फाँटिला टार यतिबेला झोरझाडी जंगलझै बनेका छन् । मानवबस्ती पातलिँदै जाँदा बाँदरको हैरानी दिनदिनै बढ्दै गएको छ । घरमा थन्काएको बालीसमेत घरमै पसेर नष्ट गर्ने गरेको छ ।
यता छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बाँदर पीडित किसानका लागि गाउँपालिकाले नीति नै तयार गरेको बताए । उनका अनुसार तत्कालका लागि प्रभावित क्षेत्र बस्तीमा विपन्न परिवारलाई गाउँपालिका स्वरोजगार कार्यक्रममा जोडेर दैनिक रुगालो व्यवस्थापन, बाँदर घाँस रोपण, वैकल्पिक खेती, तल्लो क्षेत्रमा फलफूलखेती, पानीपोखरी निर्माणलगायत विशेष कार्यक्रम ल्याइने भएको छ । यस क्षेत्रको मुख्य खेती भनेकै अन्न बाली हो । यहाँका किसानले कोदो, मकै, खेती गर्ने गरेका छन् । केही वर्ष यता बसाइँसराइ गर्ने क्रम बढेपछि बाँदरहरू बस्तीमा समेत छिर्न थालेका हुन् । बाँदरकै पिरले सिंगो बस्ती शून्य बन्दै गएको छ । काराेबार दैनिकबाट