बालविवाह गरिदिए पुण्य पाइने

| 2019 Jan 03 | 04:00 pm 2106

डोटी, पुस १९ : प्रदेश नम्बर ७ सुदूरपश्चिमस्थित रहेको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा पुण्य पाइन्छ भन्दै बालविवाहको लहरले विकृतिका गति अंगाल्दै आएको छ ।

आफ्ना छोरीको सानै उमेरमा विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने थाहा पाउँदापाउँदै यस क्षेत्रका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन तिर अग्रसर भएका छन् ।

स्थानीयवासीका अनुसार महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरिदिए पुण्य प्राप्त मिल्ने बताउँछन् । यस्ता अन्धविश्वासलाई अंगाल्दै यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गरिदिने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताए । अन्धविश्वासले गर्दा नै यहाँ बालविवाह बढ्दै गएको र रोक्न नसकिएको पनि जानकारी दिए ।

बालविवाह रोक्नका लागि विभिन्न संघसंस्थाहरु लागिपरे तर पनि रोक्न सकिरहेको छैन । विवाह गराउँनकै निमित्त यस क्षेत्रका बासिन्दाले छोरीको उमेर बढाएर भए पनि विवाह गरिदिने गरेका छन् ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जानकारी दिए ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाले नागरिकताका लागि नआउने गरेको बताए ।

बालविवाह न्यूनीकरणको अभियानका लागि भूमिराज मावि सलेनाका विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेका विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताए । बलायरका अनुसार विद्यार्थीहरूले विभिन्न किसिमका सडक नाटक लगायत जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा थालेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.