काठमाडाैँ, चैत १८ : आइतबार साँझ तराईमा आएकाे भीषण हावाहुरी र वर्षाका कारण बारा र पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।
उनले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घटनाका कारण ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गरिन् । साथै घाइतेहरुको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइन् ।
राष्ट्रपति भण्डारीले उक्त आँधीबेहरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरिन् । उनले राहतको व्यवस्था मिलाउन समेत सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताइन् ।
हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्वसावधानी अपनाउनसमेत ध्यानाकर्षण गराइन् । साथै भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहनुपर्नेमा उनकाे जाेड छ ।
यससँगै हालै मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समेत समवेदना प्रकट गर्नुहुँदै राष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ। सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।