गोरखा, भदाै ५: बुधबार राति अविरल वर्षापछि आएको पहिरोले बारपाकको रुतुक गाउँका १२ घर परिवार विस्थापित भएका छन् । लगातार तीन घण्टासम्म परेकाे पानीपछिको पहिरो जाँदा स्थानीय देवबहादुर गुरुङको घर बगाएको स्थानीय डिलबहादुर गुरुङले बताए ।
माथिबाट पहिराे खसेर घरघरमा पसेपछि स्थानीयले गाउँ छाडेका छन्। गाउँमा पहिरो पसेपछि ५/६ घर वारी डाँडामा, ५/६ घर पारी डाँडाको भैँसीको गोठमा बसेर रात काटेका पहिराे पीडित गुरुङले बताए । अहिले बिहान गाउँमा फर्केर आउँदा एउटा पसल घर बगाएर लगेको अरु घरमा पनि पहिरो पसेछ जनाए ।
विभिन्न गाउँका ३२ घरधुरी २०७२ सालको भूकम्पबाट विस्थापित भएर रुतुकामा बस्दै आएका थिए। ‘थलीडाँडा, पैलम, दरगङबाट यहाँ सुरक्षित छ भनेर आएर बसेको यहाँ पनि पहिरोले लग्यो’ गुरुङले भने, ‘बारपाक ठूलो गाउँको नालाबाट आएको बाढीले हाम्रो गाउँ बगाएको हो।’ बनाउँदा बनाउँदैको नाला ठेकेदारले गाउँमाथि ल्याएर अलपत्र छाडेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ।
पहिरो पसेपछि घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। करिब १४ लाख बराबरको धनमाल बगाएर लगेको अनुमान छ, एसपी अधिकारीले बताए ।
साथै पहिरोका कारण उत्तरी गोरखा जाने आरुघाट सडकको आरुघाट, सोती खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।