बाबर हायातले छक्का हानेर आयोजकको गाडीको सिसा फुटाइदिए

रिपोर्ट नेपाल | 2018 Dec 14 | 06:11 pm 1754

काठमाडौँ,  मंसिर २८ : विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ।

चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य पछ्याइरहेको विराटनगरका लागि तेस्रो क्रममा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो।

यसअघि इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनको ७८ रनको सहायताले चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

चितवनका लागि सिम्पसनबाहेक दीपेन्द्र सिंह ऐरीले २२ बलमा ३२ रन बनाएका थिए। यस्तै पल स्टरर्लिङले २४ रन बनाउँदा अर्का ओपनर सन्दिप सुनारले ३० रन जोडे।

विराटनगरका लागि पारस खड्का, पाउल भान मिकरेनले, करण केसी र बसन्त रेग्मीले समान एक-एक विकेट लिए। यदि आज विराटनगर विजयी भए प्लेअफमा पुग्नेछ भने चितवन समूह चरणबाट बाहिरीने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.