बादलका भाइ नरेश कारागारबाट छुटे

रिपोर्ट नेपाल | 2021 Aug 23 | 01:46 pm 1525

काठमाडौं, भदौं ७ः पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो ।

अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले जानकारी दिए । उनले भने, ‘सजाय पुरा गरेर उहाँ आज रिहा हुनु भएको छ ।’ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए ।

२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.