सन्तोष महतारा गुल्मी, असार २६ः नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले बाढी पहिरो पीडितलाई सहयोग गरेको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरका बाढी पहिरो पीडितलाई सम्पर्क समिति मार्फत विपद्व्य वस्थापन समितिले सहयोग गरेको हो ।
समितिले पीडितलाई दुई लाख बराबरको राहत सामाग्री सहयोग गरेको समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलले जानकारी दिए । सम्पर्क समितिका अनुसार चामल १ सय बोरा, तेल १ सय पोका, सोयावडी १ सय पोका, नुन १ सय पोका लगायतका थुप्रै खाद्य सामाग्री ईस्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चुरा बहादुर खत्री मार्फत प्रभावित क्षेत्रमा पुराइएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले अनुरोध गरेपछि गुल्मी स्थायी घर भइ काठमाडौं बस्दै आएका कांग्रेस शुभेच्छुकहरुको संगठन नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिको सहयोग सहित प्रभावित क्षेत्रमा पुगेको नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
प्रभावित क्षेत्रमा अझैपनि खानेपानीको व्यापक समस्या, सबै सडकहरु अबरुद्ध, विद्युत अबरुद्ध लगायतका विभिन्न समस्याहरु छन् ।
हस्तिचौरमा मानविय क्षति हुने गरी गएको पहिरोका कारण १८ महिने बालक र ९ वर्षीया बालिकाले ज्यान गुमाउनु परेको थियो । विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरी स्थापित गर्न सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला कार्य समिति गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले तिनै तहका सरकारलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा तत्कालै भूगर्भविदहरुको टोली लिएर अध्ययन गर्न सरकारसँग कांग्रेसले माग गरेको छ ।
नेपाली कांंग्रेस गुल्मीले यसअघि पनि पीडितहरुलाई १ लाख ५० हजार बराबरको राहत सामाग्री सहयोग गरेको थियो । असार १८ गते परेको अविरल वर्षाका कारणबाट इस्मा गाउँपालिका वडा नं. १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो । बाढी पहिरोमा परेर दर्जनौ घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् ।
सहयोगको लागि काठमाडौंबाट युवा समाजसेवी विष्णु केसी, फर्सुराम घिमिरे र सम्पर्क समितिका उपाध्यक्ष रामप्रसाद खरेलको उपस्थिति थियो ।
उक्त राहत सामाग्री सहयोग कार्यक्रममा पार्टीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन, कोषाध्यक्ष हरिबहादुर केसी, कांग्रेस नेता महेन्द्र भण्डारी, क्षेत्रीय सभापति भगत सिंह खड्का लगायत थुप्रै कांग्रेस नेताहरु साथै नेपाल प्रेस युनियनका सभापति रेशम कुवँर र सचिव रमेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।