बाढी पहिरो नियन्त्रण गर्न र निर्णय सच्याउन नेमकिपाको माग

रिपोर्ट नेपाल | 2018 Jul 06 | 05:55 pm 3333

भक्तपुर, २२ असार : नेपाल मजदूर किसान पार्टीले तराईको डुबान र बाढी पहिरो नियन्त्रणका लागि तत्काल उपयक्त कदम चाल्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कमिटीले आज प्रेस विज्ञप्ति जारी गर्दै देशभर बाढी पहिरोले निम्त्याएको समस्या समाधान गर्न र सरकारले काठमाडौँ उपत्यकामा तोकिएको ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाउने गरी गरेको निर्णय सच्याउन माग गरेको छ ।

पार्टी सचिव प्रेम सुवालले हस्ताक्षरित विज्ञप्तिमा वर्षाले झापादेखि कञ्चनपुरसम्मको तराई–मधेसका अधिकांश भू–भाग डुबानमा परेको र पहाडमा पहिरोमा परेका नागरिकको तीव्र गतिमा उद्धार गर्न, सरकारले बाढी–पहिरो रोकथाम र पूर्व सावधानीका उपाय अवलम्बन गर्न माग गरेको हो ।

त्यसैगरी सरकारले साउन १ गतदेखि काठमाडौँ उपत्यकाका १३ स्थानमा मात्र विरोध प्रदर्शन र सभा गर्न पाउने गरी गरेको निर्णयामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको यो निर्णयले नेपालको संविधान २०७२ को धारा १७ मा बिना हातहतियार शान्तिपूर्वक भेला हुने, विचार अभिव्यक्ति दिने, कुनै पनि भागमा आवतजावत गर्ने मौलिक अधिकार हनन हुने भन्दै यसलाई सच्याउन माग गरेको छ ।

राजनीतिक दलले विरोध र सभा गर्ने परम्पराले सरकारलाई देश र जनताको समस्या अवगत गराउने र समाधानका लागि घचघच्याउने बाटो भएको भन्दै नेमकिपाले उक्त निर्णय खारेजको समेत माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.