लमजुङ, साउन २२ः लगातारको अबिरल वर्षाका कारण हिमाली जिल्लालाई जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको पानीपछि आएको बाढीले लमजुङ–मनाङ जोड्ने सडकखण्डअन्तर्गत लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका–४ मा रामबजारको सडक खोलाले बगाएको हो ।
बाढीले करिब १५–२० मिटर सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए ।
सोही सडकखण्डअन्तर्गत घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उनका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको हो ।
उक्त बेँसीशहर चामे सडक ६५ किलोमिटर रहेको छ । सो सडकमा यस अघि पनि विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
विगतका वर्षायाममासमेत सडक अवरुद्ध भएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिरो खस्दा सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण हुने गर्दछ ।