बाढीले बाँध भत्काएपछि जलविद्युत् आयोजना बन्द

रिपोर्ट नेपाल | 2018 Aug 17 | 09:32 am 1429

म्याग्दी, भदौ १: बाढीले बाँधमा क्षति पुर्‍याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्‍याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।

टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पुर्‍याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताए।

उनका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ। माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको सो आयोजनाले एक वर्ष अघिदेखि उत्पादन शुरु गरेको थियो।

केन्द्रीय प्रसारण लाइनमा समस्या आएका बखत मुस्ताङमा थापाखोलाबाट उत्पादित विद्युत् आपूर्ति हुँदै आएको थियो। सो आयोजना बन्द हुँदा मुस्ताङका होटल, पर्यटन, उद्योग व्यवसायका साथै र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ।

यस्तै नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि तातोपानी साना जलविद्युत् आयोजना बन्द भएको छ । गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि आयोजना बन्द भएको प्राविधिक खिम पुनले बताए।

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोलाको सुरुङको मकिङ र निलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । निर्माणाधीन आयोजना र विद्युत् प्राधिकरणका कर्मचारीलाई मकिङको व्यवस्थापन तथा आयोजना मर्मतका लागि स्थानीयवासीले सचेत बनाए पनि सुनुवाइ नभएको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.