धादिङ, साउन ५ः लगभग २४ घण्टादेखि लगातार परेको पानीले बाढीपहिरो गएका कारण धादिङको पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।
त्यसैगरी चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।
बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको जनाएको छ ।
चालिसे, सोती खोला लगायतका स्थानमा गएको बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएको छ । मलेखु बजार भन्दा माथि रहेको ढकाल गाउंमा पहिरो जांदा ६ वटा घर बगाएको छ भने एक महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
अबिरल बर्षाका कारण उद्धारकर्मीहरु घटनास्थल पुगेपनि उद्धारमा जुट्न नसकेको स्थानीय प्रशासनले जनाएको छ । धादिङकै गजुरी गाउँपालिकामा पहिरोले छ वटा घर बगाएको छ । उक्त, पहिरोमा परि १७ वर्षीय एक युवती वेपत्ता भएकी छन् ।
अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथिबाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको जानकारी दिएको छ ।