दाङ, साउन २८: आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण दाङका विभिन्न खोलामा आएको बाढीले जिल्लामा यातायात सेवा ठप्प बनेको छ। लमही तुलसिपुर सडकखण्डका विभिन्न पुलबिहिन खोलामा आएको बाढीले आज विहानदेखि सवारी आवागमन ठप्प भएको हो।
ठूला गाडीहरु जोखिम मोलेर पार गरेपनि साना गाडी र मोटरसाइकल खोला पार गर्न सकिरहेका छैनन्। यात्रा जोखिमपूर्ण भएपछि मानिसहरुको आवतजावत नै अबरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ।
लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा बाढी आउँदा हरेक वर्षा याममा यात्रा जोखिमपूर्ण हुने गरेको छ । लमही–तुलसीपुर यात्रा गर्न १० वटा खोला पार गर्नुपर्छ । तीन किलोमिटरको फरकमा रहेका खोलाहरुमा पुल छैनन्। बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ।
बबई, कटुवा, गुज्रे, पत्रे, संक्राम र ग्वार खोलामा पुल निर्माण थालिए पनि काम सम्पन्न नहुँदा सास्ती भएको छ । ठेकेदार र सडक डिभिजन कार्यालयको लापरवाहीका कारण कामले गति लिन सकेको छैन। पुल बनाउने क्रममा सडक भत्काइएको छ । भरपर्दो डाइभर्सन नबनाउँदा सानो बाढीले पनि यातायात अवरुद्ध हुने गरेको छ।
डुबानमा कारगार
त्यसैगरी भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ। जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो।
एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए।
वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ।
कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए।