बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

| 2022 Jun 13 | 07:53 am 1117

गोरखा, जेठ ३०: पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे। यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो। खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो।

खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्। भन्छन्, ‘परिवार पालौँला भनेर दुःख गरी कमाएको पैसाले खेत किनेको थिएँ। तर, खोलाले झम्टेको झम्टै गर्‍यो। किसानले दुःख गरेर खान्छुभन्दा पनि पाइएन।’ पालुङटार–९ छबिसेफाँटकी शोभाकान्छी तामाङको यो सिजनमा १५ मुरी चैते (जुडी) धान भित्र्याउने सोच थियो। बाह्रैमास पानी लाग्ने तीन रोपनी खेतले उनको चार जनाको परिवारलाई ६ महिना खान पुग्ने उब्जनी दिन्थ्यो। तर, साहूबाट बन्धकीमा लिएको खेत बिहीबार रातिकै बाढीले बगर बनाइदिएको छ। धानका बाला झुलेका बेला खोला पसेकाले परिवार पाल्ने सपना पनि उजाड भएको छ।

अहिले न उनको खेतको साँधसीमा चिनिन्छ न बाँधकुलोको नाम निशाना छ। ‘अहिलेसमेत तीन वर्ष भयो। मैले यो खेतबाट एक दानो भित्र्याउन सकेको छैन’, तामाङ भन्छिन्, ‘दसनंग्रा खियाएर खान्छुभन्दा पनि दुःखीको दुःख माटोमै मिल्यो।’

हरिराम परियारले अर्काको जग्गामा अधियाँ गरेर साठीमुरे फाँटमै २५ मुरी धान फलाउँथे। तर, दुई वर्ष भयो रोपेको खेत बगर पल्टिएको। अहिले त रोपाइँ गर्न नपाउँदै खेत लगिदियो। ‘बीउ पैँचो खोजेर ब्याड राखेको थिएँ। तर, रोपाइँ गर्न नपाउँदै खेत लगिदियो। अब पैँचो तिर्ने उपाय पनि छैन’, परियार भन्छन्, ‘खोलाले हामी किसानीको टाउको उठाउनै दिएन। हामी निमुखा किसानको दुःख हेर्न न सरकार आउँछ न भोट हालेर जितेर गएकाहरू आउँछन्।’

कुनै सरकारबाट राहत नपाएको उनको गुनासो छ। ‘खेत–खेतै खोला हिँडेको छ’, उनी भन्छन्, ‘अब खोला घटेपछि खेत रोपूँ भने जेठमै यस्तो भयो। असार, साउन सिँगै बाँकी छ। फेरि बाढी नआउला भन्न सकिँदैन।’ खेत रोप्न राखेको ब्याड पनि बाढीले सिनित्तै बगाएपछि अब खेत रोप्न नसकिने पालुङटार–९ का सयौं किसानको दुखेसो छ। ‘अनेक दुःख गरेर बाँधकुलो बनाइयो। तर, अहिले नाम निसाना छैन’, खड्गबहादुर राना भन्छन्, ‘तीन वर्ष भयो। सरकारको २६ लाख रुपैयाँ खर्च गरेर यो बाँधकुलो बनाउन थालेको, तीनै बर्ष बगाएको बगायै छ। अब जोश, जाँगर पनि मर्‍यो।’ सो बाँधकुलोबाट सिँचाइ हुने करिब ३ हजार रोपनी जग्गा यो वर्ष बाँझै रहने चिन्ता उनको छ।

गत बिहीबार रातिको बाढीले पालुङटार–९ को खहरेखोलाबाट बिर्दीसम्म विभिन्न फाँटका हजारौं रोपनी खेत बगाएर सखाप छ। भित्र्याउने बेला भएको जुडी धान र मकै लगाइएको फाँट उराठलाग्दो बगर बनेको छ। रोपाइँ गर्ने तयारी गरिएको खेत फेरि रोपाइँ गर्न नमिल्ने गरी ढुंगामुढाले ढाकिएको छ। कतै खोलाको कटानले खण्डहर बनेको छ।

‘हामीलाई दुई–चार बोरा चामल राहत चाहिएको छैन’, सेराफाँटका खुतराज अधिकारी भन्छन्, ‘उब्जनी गरेर खाने खेत जोगाइदिए हुन्थ्यो।’ तीन वर्षदेखि बाढीले झम्टीझम्टी सखाप भएको खेत सरकारले तटबन्ध गरी जोगाइदिनुपर्ने उनको अनुरोध छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.