बाढीपिडितलाई तल्लो लमाई समाज जापानको सहयोग

| 2020 Sep 10 | 07:05 pm 2784

  • थम्मन थापा

बागलुङ, भदौ २५ः ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङमा भदौ १७ राती भूजिखोलामा भारी वर्षा पछि बाढी आई ठूलो धनजनको क्षती भएको छ । बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगाएका छन् ।

अहिले सिंगो बागलुङ जिल्ला शोकमा डुबेको छ । धेरै मानिसले ज्यान गुमाउनु पर्यो, कैयौं मानिस घाइते भए, धेरैले घरबास सँगै परिवारका आफन्त गुमाएका छन् ।

सोही कारणले अहिले ढोरपाटनका बाढी पीडितहरुको लागि दिनहुँ राहत सामाग्रीसँगै देश विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । प्राकृतिक विपत्तीमा सहयोगी हातहरु अगाडि बढिरहेका छन् ।

विभिन्न संघ संस्था, राजनैतिक दलदेखि व्यक्ति विशेषले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ पुगेर राहत सामाग्री र नगद सहयोग गरिरहेका छन् ।

यसरी छिमेकी पालिकामा प्राकृतिक विपत्तिले सास्ती खेपिरहेका बोबाङका बाढीपीडित नागरिकहरुलाई तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी नगद १ लाख २० हजार ५ सय ५० सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।

जापानमा रहेका तल्लो लमाईबासी नागरिकहरुको सक्रियतामा उक्त रकम संकलन गरी ढोरपाटन स्थित बोबाङका बाढीपीडितलाई सहयोग गरिएको अध्यक्ष खत्रीले बताए।

भदौ पहिलो हप्ता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव गोविन्द खत्रीले बताए ।

विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको र सामाजिक अभियान्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्काले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष खिम अधिकारीले बताए ।

समाजले भुजिखोलाको बाढीमा दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनामा घाइते भएका नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ भने, उद्धारमा खटिने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.