बाढीपहिरोको कारण ११ को मृत्यु, हजार घर डुबे सरकार रमिते

रिपोर्ट नेपाल | 2018 Jul 03 | 09:02 am 6758

काठमाडौँ,असार १९ : मौसम विद्हरुको पूर्वअनुमान अनुसार देशका विभिन्न भागमा असार १७ र १८ गते अबिरल बर्षा हुने बताइएकोमा यो दुई दिनको अबिरल बर्षाले धेरैको ज्यान लिनुको साथै हजारौं घर डुवानमा परेका छन् ।

यो अवधिमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारले रमिते भएर उद्धार प्रयास अत्यन्तै फितलो देखाएको छ ।

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाले मृत्युवरण गर्नु परेको कुरा स्वयंम गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् ।

यसरी बाढी र पहिरोको कारण हजारौंको संख्याका सर्वसाधारणले घरवार विहिन भएर अन्यत्रै बस्न बाध्य हुँदा पनि पिडितहरु मुलुकमा सरकार भए नभएको आभाष पाउन सकेका छैनन् ।

रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाले ज्यान गुमाउनु पर्यो ।

बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा चिन्ताले अचेत भएर ढलेका छन् । राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान मृत्यु भएको थियो ।

त्यसै गरी लगातारको भारी वर्षाले प्रदेश नम्बर २ का अधिकांश क्षेत्र जलमग्न भएका छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् ।

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जनाएका छन् ।

उनका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ । एक विद्यार्थी अझै बेपत्ता छन् ।
प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो ।

कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन् । अर्का दुई संगीता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन् ।

दुई दिन सम्म परेको वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ । सडकमा तीन फिटसम्म पानी जमेको राजपाका महासचिव राजेसमान सिंहले जनाएका छन् ।

महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको सिंहको भनाई रहेको छ ।

त्यस्तै बर्षाकै कारण कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ ।

गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताएका छन्।

अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए । चौधरीका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन् ।

दुई दिन सम्म लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसोसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको थियो ।

करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ ।

नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.