सर्लाही, वैशाख २ : सडकमा फेला पारेको एक लाख नगद रुपैयाँ फिर्ता गरेको सुन्दा बेइमानहरुले पछुतो माने पनि समाजमा स्वाभिमान मान्छे पनि छन् भन्ने उदाहरण यहाँका एक पुस्तक व्यवसायिले देखाइदिएका छन् । नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो भेट्टाएको रु एक लाख आफ्नो बुबा अजय श्रेष्ठलाई लगेर दिएका थिए।
एक लाख रकम हराएर पनि फेरि पाउने व्यक्ति लालबन्दी नगरपालिका–१ नवलपुर निवासी नथुनी साह हुन्। शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायब निरीक्षक सूर्य कार्कीसहित स्थानीय समाजसेवीको रोहबरमा अजय र आर्यन बाबुछोराले नथुनीलाई नगद फिर्ता गरेका हुन्। भेटिएको रकम नथुनीकै भएको पुष्टी भएपछि इलाका प्रहरी कायालय नवलपुरमा प्रहरीको रोहबरमा रकम फिर्ता गरिएको आर्यनका बुबा अजयले बताए।
नथुनीले आफूले किनेको जग्गाको रकम तिर्न भनी आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जानेक्रममा एक लाखको बन्डल भने बाटैमा खसालेका थिए।
अजयले भने, पैसा जति भए पनि कहिल्यै पुग्दैन, त्यसैले हराएको मान्छे निश्चित भएपछि पैसा फिर्ता गरिदिएको हुँ।