बाजपेयीको निधनप्रति प्रधानमन्त्री ओली र सभापति देउवाको शोक सन्देश

| 2018 Aug 17 | 06:35 am 1934

काठमाडौं, भदौ १: भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनप्रति नेपाली शिर्ष नेताले दुख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाजपेयीको असामयिक निधन भएकोमा समवेदना व्यक्त गरेका छन्। नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार साँझ शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भएको जनाएका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गरेको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन्। पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा भनेका छन्, ‘उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण रहेको उल्ल्ख गरेका छन्। स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका छन्।

असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाएको सन्देशमा उल्लेख छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक पूर्वप्रधानमन्त्री बाजपेयीको बिहिबार साँझ भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

सभापति देउवाले बिहीबार साँझै एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता भएको भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन्। बाजपेयीको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको देउवाले जनाएका छन्।

स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना पनि देउवाले गरेका छन्। साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.