बाघमारामा हात्तीलाई वनभोज

| 2018 Dec 28 | 11:46 am 2075

चितवन, पुस १३: हात्तीले बिहीबार नियमित काम गरेनन्। पर्यटकीय क्षेत्र सौराहाका करिब सय हात्ती बाघमारा चौरमा जम्मा भए। विभिन्न परिकार खाए। अरू दिनभन्दा फरक खान्की खाएर रमाए।

हात्ती महोत्सवको दोस्रो दिन वनभोज थियो। महोत्सव आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार हात्तीले के खान्छन्, उनीहरूले कसरी खान्छन् भन्ने जानकारी दिने उद्देश्यले वनभोज गरिएको थियो।

पोखरा लेखनाथ–३० बाट महोत्सवमा आएका सरोज भुर्तेलले हात्ती यसअघि पनि देखेका थिए। यति धेरै हात्ती र उनीहरूले खाएको भने पहिलोपटक देखे।

सुँडले खानेकुरा बटारेर खाएको उनले मज्जा माने। केरा, सुन्तला, बन्दा, उखुमध्ये रोजेर जे मीठो हो, त्यही खाँदोरहेछ भन्ने उनले थाहा पाए। ‘मैले त हात्तीले उखु रोज्दै खाएको पनि देखें,’ भुर्तेलले भने। वनभोजलाई पृष्ठभूमिमा पारेर थुप्रै स्वदेशी तथा विदेशी पर्यटकले
सेल्फी खिचे। १५ वर्षअघि सुरु भएको हात्ती महोत्सव सुरुमा दौडमात्र गरिन्थ्यो।

हात्ती दौडाउनु उनीहरूको स्वभावअनुकूलको काम नभएको भनेर पशु अधिकारकर्मीले विरोध गरे। क्षेत्रीय होटल संघले यसलाई फरक शैलीमा आयोजना गर्न थाल्यो। ४ वर्षअघि हात्ती महोत्सव भनेर निरन्तरता दिँदा वनभोज थपियो।

सौराहा खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार एउटा हात्तीलाई दिनमा १५ किलो धान, डेढ किलो भेली र २५ ग्राम नुन खानाका रूपमा दिने गरिन्छ। पराल वा खरमा थोरै धान, नुन र भेली राखेर डल्ला बनाइन्छ। यस्तो डल्लालाई कुची भनिन्छ। हात्तीको नियमित खान्की यही कुची हो। बेला–बेला हरियो घाँस र सिमलको डाले घाँस थप्ने गरिन्छ।

‘उसले मन पराउने खान्की अरू पनि छन्। वनभोजमा राखिएका उसका प्रिय खाना हुन्। एक दिन सबै भेला भएर खान पाउँदा हात्तीसँगै मानिस पनि रमाउँछन्,’ चौधरीले भने, ‘वनभोजमा कुची त छँदै थियो, यसका साथै उखु, बन्दा, गाँजर, सुन्तला, केरा, फर्सीजस्ता १० प्रकारका खान्की थिए।’

महोत्सव आइतबार सकिँदै छ। आयोजकका अनुसार शुक्रबार छावाको फुटबल, हात्ती पोलो र ‘एलिफेन्ट फास्ट वाक’ हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.