बागलुङ र पर्वत जोड्ने पुलको नामाकरण गर्ने सापकाेटालाई पुरस्कार

रिपोर्ट नेपाल | 2022 Jan 31 | 01:10 pm 1397

बागलुङ, माघ १७ः बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु) जोड्ने प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ ।

पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजारले पुरस्कृत गरेको हो ।

सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए । शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे ।

नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो ।

सापकोटाले नाम मात्रै राखेका थिएन उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए । पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो ।

बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।

शहीदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.