काठमाडाैं, बैशाख ४ः पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फाेट गराएको अभियाेगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राखेका छन् । भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र ६ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको छ । बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम विस्फाेट भएको थियो ।
उक्त घरको पूर्व पट्टीको गेट र दुई छिमेकीको घरमा समेत क्षति हुनेगरी बम विस्फाेट गराएकाे अभियाेगमा काठमाडाैं रानीबारीबाट कैलाली टिकापुर नगरपालिका वडा नं. २ घर भई हाल काठमाडाैं सामाखुशी बस्ने ३१ वर्षीय लक्ष्मण सेठ्ठि, कैलालीकै भजनी नगरपालिका वडा नं. ४ घर भई हाल चितवन भरतपुर बस्ने ३२ वर्षीय अमृतबहादुर कुमाल र कालिकोट शान्ति त्रिबेणी गाउँपालिका वडा नं. ८ घर भई काठमाडाैं बसुन्धरा बस्ने २७ वर्षीय अभिषेक भन्ने टेकबहादुर बिक पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया