बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

| 2022 Jun 25 | 08:44 am 2033

बाँके, असार ११ः नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी  कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछि उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।

विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ। कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन्। कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ। कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए।

बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ। ‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ,’ उनले भने। उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ। कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्।

कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित  छ। कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ। ढल निकासको व्यवस्था छैन। फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ। फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ। बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.