बाँकेको एक अक्सिजन उद्योगमा छुट्टै नयाँ फिडर जडान

रिपोर्ट नेपाल | 2021 May 17 | 09:49 am 3493

बाँके, जेठ ३ः पटकपटक विद्युत् आउने जाने समस्याले प्रभावित भएको बाँकेको एक अक्सिजन उद्योगमा छुट्टै नयाँ फिडर जडान गरिएको छ । उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएको नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लखनलाल मल्लिकले नेपालगञ्जको परासपुरस्थित एचओ अक्सिजन उद्योगमा समस्या नहोस् भन्ने उद्देश्यले नयाँ फिडर जडान गरिएकाले अब सो उद्योगमा चौबिसै घण्टा विद्युत् रहने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँके प्रहरी प्रमुख ओमबहादुर राना, नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापा र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको पहलमा छुट्टै नयाँ फिडर जडान गरिएको मल्लिकले बताए ।

उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएपछि अक्सिजन उत्पादन बढेको एचओ अक्सिजन उद्योगका सञ्चालक महेश कुर्मीले बताए । उाले प्रशासनले समयमै फिडर जडान गराएकाले अक्सिजन उत्पादन बढेकाले अभाव नहुने जनाए ।

विद्युत् समस्या समाधान भएपछि दैनिक एक हजार सिलिन्डर उत्पादन गर्न थालिएको सञ्चालक कुर्मीले बताए । यसअघि सो उद्योगमा दैनिक छ सयदेखि आठ सय सिलिन्डरसम्म मात्रै उत्पादन हुँदै आएको थियो । नेपालगञ्जमा दुई अक्सिजन उद्योग रहेका छन् । परासपुरमा रहेको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सूर्य शक्ति अक्सिजन उद्योग सञ्चालनमा छ तर यी दुवै उद्योगका अधिकांश सिलिन्डर अझै पनि बजारमा रहेकाले सिलिन्डरको भने अभाव रहेको दुवै उद्योगले जनाएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.