काठमाडौँ १६ असोज : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थिरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । क्षेत्र नम्बर १ काठमाडौँ १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चात्ताप मानिरहेको दाबी पनि गरे । नेता सिंहले भने, ‘जनतालाई स्थिरता दिन्छु भन्ने सरकारको स्थिरता यही हो त ?’
दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गरे । नेता सिंहले भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरू आइरहेका छन् ।’
महँगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरू छटपटाइरहेको उनले बताए । ‘अरू पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त काँग्रेसले नै गर्छ,’ नेता सिंहले भने, ‘काँग्रेस यस्तै हो, एक पटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौँ भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छटपटी सबैलाई भइरहेको छ । बरु काँग्रेस नै ठिक भन्न थालिसके ।’
नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए । उनले भने, ‘अब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौँ । आउँदा चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रूपमा कांग्रेसलाई तपाईँहरूले चाँडै पाउनु हुनेछ ।’