बहुबिवाह मुद्दाका फरार २ अभियुक्त २ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 26 | 05:49 pm 3649

तनहुँ, भदौ १०ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा बहु बिवाह मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका वडा नं २ गैराथोक बस्ने ३३ वर्षीय बिनोद भन्ने धन बहादुर राना र कान्छी श्रीमती ३६ वर्षीया नमुना राना ठकुरी रहेका छन् ।

उनीहरु उपर तनहुँ जिल्ला अदालतको मिति २०७५ असार २६ गतेको फैसलाले दुबै जनालाई जनही १ बर्ष कैद र १० हजार जरिवाना हुने सजाय सुनाएको थियो ।

उक्त फैसला उपर जनही ११ महिना ५ दिन कैद र जनही १० हजार जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ ९ गते बिहान घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ गरी उनीहरुलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय पठाएको तनहुँ प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.