दाङ, चैत १०:सोमबार जिल्लाको गढवा गाउँपालिका १ जुरौनिस्थित पूर्वपश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम त्रिवेणी गाउँपालिका ५ खारा बस्ने गंगादेब गाउँपालिका रोल्पाका निमिक्त प्रशासकिय अधिकृत गणेश पुन मगर र सोही मोटरसाइकलमा सवार रोल्पा गंगादेव गाउँपालिका ४ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ५ बस्ने गंगादेब गाउँपालिका रोल्पाका कम्प्युटर अप्रेटर २४ वर्षीय रमेश वली रहेका छन् ।
उक्त दुर्घटनामा परी मगरको घटनास्थलमै मृत्यु भएको थियो भने वलीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्बरको बसले बिपरित दिशातर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
सोही दुर्घटनाको समयमा बस अनियन्त्रीत भई पल्टिँदा बसमा सवार तीन जना घाइते भएका थिए । घाइते हुनेमा तुलसी उपमहानगरपालिका ५ का २५ वर्षीय अजय कुँवर, बर्दिया बासगडी नगरपालिका ६ की १८ वर्षीया कृष्णा चौधरी र तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरकी सन्ध्या खत्री रहेका छन् ।
उनीहरुको लमही अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले बताएको छ । बास चालकलाई प्रहरीले नियन्त्रण लिइएको जनाइको छ ।